हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारलागि लागि पत्रकारहरुको भ्रमण हेटौंडाबाट सुरु भएको छ ।

घुमफिर बर्ष २०७९/८० सफल पारौं भन्ने मुल नाराका साथ आजबाट भ्रमण सुरु गरिएको हो । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय हेटौंडा मकवानपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा प्रदेशका पत्रकारहरुका लागि भ्रमणको आयोजना गरिएको हो ।

पर्यटन उद्योग तथा सहकारी मन्त्रालयका निमित्त सचिव राधाकृष्ण खतिवडाले भ्रमणमा सहभागी भएका पत्रकारहरुको टोलीलाई बिदाई गरेका थिए । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए । उनले प्रदेश सरकारको लगानीमा सम्पन भएका योजना तथा कामहरुको पनि समाचार सामाग्री बनाईदिन आग्रह गरेका हुन ।

बिदाई कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले भ्रमणलाई उपलब्धीमूलक बनाउन आग्रह गर्दै पर्यटकीय क्षेत्रलाई अझैं उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भ्रमणमा सहभागिहरुलाई अनुरोध गरे ।

बागमती प्रदेशका पत्रकारहरु सहभागि भ्रमण टोली हेटौंडा हुँदै मकवानपुरको थाहा नगरपालिका वडा नं ९ को पर्यटकीय स्थल चित्लाङमा त्यहाँका स्थानीय होटल, होमस्टे, पर्यटन व्यवसायी संग पर्यटकीय स्थल, कला, संस्कृतिका बिषयमा छलफल गरेको थियो ।

पत्रकारहरुको भ्रमण टोलीले मकवानपुर, नुवाकोट, रसुवा, धादिङका पर्यटकिय क्षेत्रको भ्रमण गरि प्रचार प्रसार गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले जानकारी दिए । उनले पर्यटकीय क्षेत्रको बिषयलाई उजागर गर्न यसअघि प्रदेशका पत्रकारहरुलाई तालिम समेत दिएको जानकारी दिए ।