हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट बरामद गरी प्रतिबन्धित मङ्गुर माछाका भुराहरु नष्ट गरेको हो ।

काँकडभित्ताबाट हेटौंडातर्फ आउँदै गरेको प्र.१–००६ ख ५२३८ नम्बरको बसलाई चेकजाँच गर्दा ३२ बर्षीय भारतीय नागरिक पुरन चौधरीले बसको डिक्कीभित्र अबैध रुपमा भन्सार छलेर ल्याएको ८० किलो मङ्गुर माछाका भुरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त माछाहरु बरामद गरी भेटनरी डाक्टर तथा स्थानिय जनप्रतिनिधिको रोहबरमा सुरक्षित स्थानमा खाल्डो पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ । साथै चौधरीलाई आवश्यक कारबाहीको लागी भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटाैडा, मकवानपुर पठाईएको छ । मङ्गुर माछा सेवनका कारण क्यान्सर हुने प्रवल सम्भावना देखिएपछि सो माछालाई नेपाल सरकारले विक्री वितरण प्रतिवन्ध लगाएको छ ।