हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. १, दरवार डाँडामा दारको पाँच सय विरुवा रोपिएको छ । डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजनामा दारको विरुवा रोपण गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजन वन अधिकृत बिष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत शिव सापकोटा लगायतकाले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

मकवानपुरबाट लोप हुँदै गएको दारको संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको हो । हैसियत विग्रेको वन क्षेत्रमा पुनरुत्पादन प्रवद्र्धन तथा संरक्षण कार्य अन्र्तगत दरवार डाँडा सामुदायिक वन उपभोक्ता समूह अन्र्तगतको वन क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण कार्यक्रममा फेकोफन मकवानपुरकी पूर्व अध्यक्ष पञ्चमाया स्याङतान, डिभिजन वन कार्यालय राप्ती, मनहरीका रेन्जर निश्चल घिमिरे, भैंसे सव डिभिजन कार्यालयका फरेष्टर बबिता घिमिरे, सलिना राई लगायतकाको उपस्थिती रहेको थियो ।

ठेकी बनाउने दारको संरक्षण गरिर्दै
मकवानपुरको चिनारीको रुपमा रहेको काठको ठेकी लोप हुने अवस्थामा पुगेपछि डिभिजन वन कार्यालय राप्ती, मनहरीले आफ्नै नर्सरीमा विरुवा उत्पादन तथा दारको वृक्षारोपण र पकेट क्षेत्र बनाउन बिशेष अभियान थालेको छ ।

ग्रामीण क्षेत्रका पशुपालन किसानले दूध जमाउने, दही मथ्ने (मही बनाउने) प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेपछि त्यसको संरक्षण गर्न र महत्व दर्शाउनका लागि जानकारीमूलक प्रचार सामाग्री, विरुवा उत्पादन तथा पकेट क्षेत्रकै रुपमा विरुवा रोपण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय राप्ती, मनहरीका डिभिजन वन अधिकृत बिष्णुप्रसाद आचार्यले बताए । उनले भने–‘चिउरी, चेपाङ, चमेरो, सालक संरक्षण, सिता अशोक, दारको विरुवा उत्पादन तथा वृक्षारोपणलाई विशेष अभियानका रुपमा संचालन गरेका छौं ।’

पछिल्लो समय काठको ठेकी प्रयोग र संरक्षण नहुँदा काठको ठेकी लोप हुँदै गएको छ । समय परिवर्तसंगै यन्त्र र उपकरणको प्रयोग बढ्दै जाँदा मकवानपुरको चिनारी काठको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको छ । परम्परागत काठको ठेकीलाई धातुको प्रयोग गरी बनाइएका आधुनिक सामग्री तथा यन्त्र उपकरणहरूले विस्थापित गर्दा लोप हुने अवस्थामा पुगेको हो । कुनै समय मकवानपुर काठको ठेकी उत्पादनको लागि प्रख्यात जिल्लाको रुपमा नै उल्लेख गरिएको पाइन्छ ।

मकवानपुरको विभिन्न स्थानहरुमा ठेकी बनाउन दार अथवा देवदारु प्रजातिका रुखको काठको प्रयोग गरिन्छ । ती प्रजातिका काठलाई खोपेर बुट्टा भर्ने काम कुदेर ठेकी तयार गर्ने गरिन्छ । काठको ठेकी लोप हुँदा मकवानपुरका चुदारेहरुको पेसासमेत संकटमा परेको छ । मकवानपुरमा बनेको ठेकी भक्तपुर, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा लगेर विक्री गर्ने गरेको इतिहास कायम छ ।

https://anirudrakhabar.com/2023/03/13/%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%8f%e0%a4%95-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%80/?fbclid=IwAR3MCNnw3bLZKDKZG26A_eRCdIeBkHWgZYwAzA9vS7JbAyNRJTDM0LiCdOs