हेटौंडा । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ ।
सो राजमार्ग काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग हो । ललितपुरको टिकाभैरवदेखि हेटौंडाको बुद्धचोकसम्म कुल लम्बाइ ७९ किलोमिटर रहेको छ । जसमध्ये ७२ किलोमिटर कालोपत्रे भइसकेको छ भने दुई किलोमिटरको कालापत्रे हुँदै छ । अधिकांश भाग कालोपत्रे भइसके पनि केही ठाउँमा प्रायः वर्षभरि आइरहने पहिरोका कारण नियमित सञ्चालन हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तराईसँग काठमाडौँलाई जोड्ने त्रिभुवन राजपथ र नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा समेत सञ्चालन गर्न सकिने कान्ति राजमार्गको मुख्य समस्याका रूपमा रहेको पहिरोलाई स्थायी रूपमा नियन्त्रण गर्न ‘जिओ टेक्निकल इन्भेस्टिगेसन’ तथा ‘स्लोप स्ट्याबिलिटी’ का लागि अध्ययन सुरु गरिएको जानकारी दिए । सडक विभागको भू–वातावरण तथा सामाजिक शाखाले सो अध्ययन गरिरहेको छ ।
उनले भने, “भूबनोट तथा पहिरोका कारण कालोपत्र गर्न बाँकी पाँच किलोमिटरमा स्तरोन्नति तथा कालोपत्रे गर्न विभिन्न जटिलता उत्पन्न भएको छ । अध्ययन प्रतिवेदन आइसकेपछि सोही अनुसारको बजेट व्यवस्थापन गरी निर्माण अगाडि बढाइनेछ ।” सो अध्ययनका अतिरिक्त पहिरो नियन्त्रण तथा निर्माणका लागि मन्त्रालयले सम्बन्धित विज्ञहरूसँग समेत छलफल गरिरहेको उनको भनाइ छ ।
कान्ति राजमार्ग सडक आयोजनाका प्रमुख सुरेश न्यौपानेले देशकै पुरानो राजमार्गका रूपमा रहेको कान्ति सडक वर्षभरि नै सञ्चालनमा ल्याउन पाँच किलोमिटर मुख्य समस्याका रूपमा रहेको बताउँदै सोको स्थायी समाधान गर्न अध्ययन भइरहेको जानकारी दिए ।
बाँकी रहेको स्थानमा स्तरोन्नति तथा कालोपत्रे गर्न ६६ करोड रुपियाँको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा गत वर्ष साउनमै फाइल पठाइए पनि अहिलेसम्म स्वीकृत हुन नसकेको आयोजना प्रमुख न्यौपानेको भनाइ छ । यो सडक निर्माणको कुल लागत तीन अर्ब ३५ करोड रुपियाँ रहेकोमा अहिलेसम्म दुई अर्ब २० करोड रुपियाँ खर्च भइसकेको छ । काठमाडौंतर्फ यस सडकको जिरो किलोमिटर टिकाभैरव छ भने हेटौंडाबाट यस सडकको जिरो किलोमिटर बुद्धचोक हो । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’ को ‘डबल लेन’ र ‘सिङ्गल लेन’ को बिचमा रहने गरी निर्माण गरिएको छ। सडकको कुल लम्बाइमध्ये मकवानपुरतर्फको ५० र ललितपुरतर्फ २९ किलोमिटर छ ।
हेटौंडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दूरी १५ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दूरी ३६ किलोमिटर र बगुवादेखि टिकाभैरवसम्मको दूरी २८ किलोमिटर छ। २०१३ देखि २०१६ सम्म नेपाली सेनाले यो सडकको ट्र्याक खोलेको थियो। आर्थिक वर्ष २०७१/७२ मा यो सडक राष्ट्रिय महत्वको आयोजनामा परेको थियो। सोही समयदेखि यस सडकका लागि विधिवत् रूपमा काम थालिएको हो । गोरखापत्रबाट साभार












प्रतिक्रिया दिनुहोस्