हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर–१३ गोठदमार सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मंगलबार गोठदमार सल्लाघारी स्थित जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ । घाँसदाउरा गर्न जंगल पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सडेगलेको शव हेटौंडा–१३ बुद्धचोक बस्ने ४३ वर्षीया कृष्णमाया घलानको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार गत असार २५ गतेबाट घलान हराएको भनी उनका छोरा समन घलानले प्रहरीमा हुलियासहितको निवेदन दिएका थिए ।
छोराले मृतकको हातमा भएको बाला र कपडाबाट पहिचान गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्