हेटौंडा । मकवानपुरको हेटौँडा–१५, रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडा सहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँ तर्फ कागज लिएर जाँदै गरेको कन्टेनर भित्र लुकाई लगिएको प्रतिवन्धित औषधि र कपडा बरामद गरेर सार्वजनिक गरेको हो ।

प्रहरीले बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबहाक कन्टेनरबाट १४ लाख ४६ हजार बराबरको कपडा, प्रतिवन्धित ट्रामाडोल औषधि ७ कार्टुन र म्याद गुज्रिएको मल्टी भिटामिन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीले दश लाख २६ हजार बराबरको ५१३ थान कुर्था, एक लाख २० हजार मुल्य बराबरको ३० थान पाइन्ट, तीन लाख मुल्य बराबरको दुईसय थान टि–र्सट बरामद गरेको हो । त्यस्तै प्रहरीले प्रतिवन्धित औषधि ट्रामाडोल एकलाख ३१ हजार ७६० ट्याव्लेट र म्याद गुज्रिएको १५० वटा महरिच मल्टिभिटामिन बरामद गरेर सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीले कन्टेनरसहित चालकलाई पक्राउगरि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ ।