हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–८ देउता खोलाको शिरमा कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

साउन २५ गते दिउँसो स्थानीय महिलासँग सामान्य वादविवाद हुँदा कुटपिटबाट घाइते बकैया–८ बस्ने ५१ बर्षीया जालीमाया घिसिङको उपचार पश्चात घर ल्याउने क्रममा भदौ १ गते शुक्रवार बाटोमा मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ । स्थानीय ४८ वर्षिय पातली माया भोलनको कुटाइबाट घिसिङको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

जालीमाया र पातलीमायाबिच सामान्य वादविवाद भएर झगडा हुँदा घिसिङको टाउकोमा भित्रि चोट लागि घाइते भएकी थिइन् । उनको स्थानीय मेडिकलमा उपचार पश्चात साउन २८ गते वडाको न्यायिक समितिमा उपचार खर्च कुटपिट गर्ने पातली मायाले व्यहोर्ने सहमती भएको थियो । साउन ३१ गते राती अचानक जालीमाया बेहोस भई उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याईएकोमा थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । टिचिङमा सम्बन्धीत डाक्टरले उपचार हुन नसक्ने जानकारी दिएपछि बिरामी डिस्चार्ज गरी घर ल्याउने क्रममा भदौ १ गते ६ः३० बजे मृत्यु भएको जानकारी आएको प्रदेश प्रहरीको भनाई छ ।

कुटपिट गर्ने पातलीमायालाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउन लागिएको प्रवक्ता एवं डिसपी टेक बहादुर कार्कीले जानकारी दिए ।