हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफनो २८ औं स्थापना दिवस आईतवार मनाएको छ । संस्था २०५३ साल भदौ २४ गते स्थापना गरिएको हो ।

संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अहिले सहकारी संस्थाहरु अप्ठेरो अवस्थामा रहेकाले सञ्चालक समितिले सावधानीपूर्वक काम गर्नु पर्नेमा जोड दिएका थिए । संस्थामा आवद्ध शेयर सदस्यहरुलाई विश्वासमा लिई काम गर्नुृ पर्ने भन्दै सहभागीहरुले जनकल्याणको नामलाई सदैव उच्च स्थानमा राख्नु पर्ने बताए ।

सहकारीका ब्यवस्थापक दिपेन्द्र गौतमले सहकारीको आर्थिक अवस्थाको बारेमा जानकारी गराउदै सहकारीले सदैव शेयर सदस्यहरुको हितमा काम गरेको बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, पूर्व उपाध्यक्ष खिल प्रसाद गौतम, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सल्लाहकार, सञ्चालक समिति, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता थियो ।

शेयर पूँजी २ करोड ५५ लाख निक्षेप २१ करोड २२ लाख ऋण लगानी १९ करोड ८० लाख रहेको यस सहकारीमा २ हजार ८ सय ५० जना शेयर सदस्यहरु आवद्ध रहेको संस्थाका सचिव रोम बहादुर न्यौपानेले बताए ।