हेटौंडा । मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या ७६० पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म पुरुष ३८८ र महिला ३७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा डेंगु सङ्क्रमितको संख्या शुन्य रहेको छ । जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या घट्न थालेको हो । साउनबाट देखिन थालेको डेंगु कात्तिकबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन । यहाँ ५२६ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्मितको संख्या शुन्य रहेको छ ।
त्यस्तै थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै हेटौँडा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुमा गत आर्थिक बर्षमा पाँच हजार ८६४ जनामा डेंगु संक्रमण भएको थियो जसमध्ये तीनहजार २०५ जना पुरुष र दुइ हजार ६५९ जना महिला रहेका थिए । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्