हेटौंडा । पेस्तोल र गोली सहित पक्राउ परेका तीन जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा पत्रकार सम्मेलन गरेर पक्राउ परेका र बरामद भएका सामाग्रीहरु सार्वजनिक गरिएको हो ।

प्रहरीले हेटौंडा ९ का ३३ बर्षीय निश्चल पौडेल, ३५ बर्षीय गणेश घले र ३० बर्षीय प्रितम क्षेत्रीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, २० राउण्ड गोली, हतियार सफा गर्ने रड एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले लागुऔषध खैरो हेरोईन २ ग्राम ४०० मि.ग्रा., लागु औषध तौल गर्ने डिजिटल तराजु २ थान, घटनामा प्रयोग भएको ना २५ प ३३०५ नं. मोटरसाइकल, ना ६३ प ९६७८ नं. मोटरसाइकल, पाँचथान मोबाईल, नगद ५० हजार र घटनामा प्रयोग भएको कपडा एकथान बरामद गरेको प्रहरी उपरीक्षक रिजालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

हेटौँडा–९ का सुर्यप्रसाद पौडेल सुरेशको तीन तल्ले घरमा गोली प्रहार भएको सूचना प्राप्त भयो, मेरो नेतृत्वमा प्रारम्भिक अनुन्धान थाल्यौं, प्रहरी उपरीक्षक रिजालले भने । प्रारम्भिक अनुसन्धानको क्रममा घरमा पाँचवटा गोली प्रहार भएको उनले जानकारी दिए । घटना घटाउनेले फोन गरेर एक करोड रुपियाँ माग गर्दै नदिए जे पनि हुन सक्छ भन्दै सुरेशको परिवारलाई धम्की दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको हो ।

मङ्सिर १८ गते हेटौँडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उहाँको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला परेको थियो । प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउण्ड गोली समेत फेला परेको थियो ।

पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने उनले बताए । ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा र लागूऔषध ऐन २०३३ अन्र्तगत खैरो हेरोइनको कारोवार कसुरमा अनुसन्धान गर्ने प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।