हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले एकवर्षे एनेस्थेसिया सहायक कोर्ष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आइतबार एक कार्यक्रमकाबीच उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक सागर प्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमबारे प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सुरेन्द्र शेरचनले जानकारी गराएका थिए । उनले स्वास्थ्य क्षेत्रमा सर्जिकल सेवा विस्तार गर्न यस कार्यक्रमको सुरुवात गरिएको बताए । पछिल्लो समय स्वास्थ्य क्षेत्रको विस्तार जिल्ला हुँदै स्थानीय तहसम्म पुगेकाले सर्जिकल डाक्टर तथा प्राविधिकहरुको जनशक्ति अभावले हामीले पहिलो पटक एनेस्थेसिया सहायक कोर्ष कार्यक्रम सञ्चालन गरिएको बताए ।

यस कोर्षका लागि मकवानपुरका सुरेश मोक्तान, धादिङका मेरी तामाङ र रौतहटका सन्तोष कुमार माझी छनौट भएका छन् । एच.ए वा नर्सिङ पास गरेकाहरुले यस कोर्ष गर्न पाउने प्रावधान रहेको शिक्षाध्यक्ष डा. शेरचनले बताएका छन् । कार्यक्रममा प्रतिष्ठानका डीन डा. दुर्गाकुमारी खड्का, हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, प्रतिष्ठान सदस्य उत्सव चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।