हेटौंडा । दुग्ध उत्पादक किसानलाई सरकारले दिँदै आएको अनुदानमा कटौती गरेपछि दुग्ध उत्पादक किसान आन्दोलित बनेका छन् । दुग्ध उत्पादनमा दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भएता पनि कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसानले दुवै सरकारको अनुदानबाट बञ्चित भएको भन्दै किसानहरुले आन्दोलन गरेका हुन् ।

किसानहरुले मंगलवार बिहान दुइघण्टा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौँडामा तालाबन्दी गरेका छन् । दुग्ध उत्पादनमा आधारित अनुदानका लागि प्रकाशित सूचना बदर, दुग्ध उत्पादक किसानहरुलाई दिँदै आएको लिटर अनुदान (उत्पादनका आधारमा) बिगत भन्दा कम नहुनेगरी दिने व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् । दुग्ध उत्पादक किसानको भुक्तानी अविलम्ब दिने व्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादनको बजारिकरणको ग्यारेन्टी र किसानको आवश्यकताको आधारमा अनुदान दिने व्यवस्था गर्न उनीहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।

बागमती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपैयाँ विनियोजन गरेकोमा स्थानीय तहलेसमेत अनुदान दिएकाले दोहोरो अनुदान हुने भन्दै त्यसलाई घटाएर ५ करोड रुपैयाँमा झारेको छ । मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष हरि प्रसाद कडेँलले बताए । उनले किसान जोगाउने काम नभएकोप्रति चिन्ता व्यक्त गरे ।

आन्दोलित किसानका अनुसार मकवानपुर र चितवनका विभिन्न पालिकाले किसानलाई दुग्ध उत्पादनबापत अनुदानको व्यवस्था गरेका छैनन् । तर, प्रदेश सरकारले पनि अनुदान कटौती गर्दा उनीहरु प्रत्यक्ष मारमा परेका छन् ।

बागमती प्रदेशका दुग्ध उत्पादक सबै किसानले अनुदान पाउनुपर्ने माग गर्दै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा तालाबन्दी गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेलजानकारी दिए । दुध बेच्न मुस्किल भईरहेको अवस्थामा बेचेको दुधको रकम भदौंदेखि भुक्तानी नपाउदा कृषि मन्त्रालयलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनको भनाई छ ।