हेटौंडा । मकवानपुर जिल्लाको दोस्रो पुरानो विद्यालय बालबोध माविको ६७ औँ अभिभावक भेला शनिबार भएको छ ।

हेटौंडा–१७, भुलभुलेस्थित विद्यालय प्राङ्गणमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्दै कार्यक्रम सम्पन्न भएको हो । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासको योजना प्रस्तुत गरेका थिए । 

अध्यक्ष अर्यालले विद्यालयमा संचालन भइरहेको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्न नियुक्त गरिएका निजी शिक्षक तथा कर्मचारीहरूको लागि शिक्षक कार्यविधि बनाई लागू गर्नका लागि व्यवस्थापन समितिलाई अधिकार दिन प्रस्ताव गरेका थिए ।

विद्यालयले हाल शैक्षिक गतिविधिहरूलाई व्यवस्थित गर्नका लागि अक्षय कोष स्थापना गर्न विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग संकलन समेत गरिरहेको छ । अक्षयकोषलाई थप व्यवस्थित गर्नका लागि पूर्व विद्यार्थीहरूको संगठन बनाई अघि बढ्ने योजना रहेको अध्यक्ष अर्यालले बताए ।

भेलामा प्रधानाध्यापक दीपकलाल श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए । वि. सं. २००८ माघ २३ गते स्थापित विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ५ सय ३ विद्यार्थी अध्ययनरत रहेका छन् ।