हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ रामनगरको एक घरमा मङ्गलवार साँझ आगलागी भएको छ । स्थानीय आत्म लाल चौलागाइँको घरमा आगलागी हुँदा करिब ४२ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चौलागाइँको सिमेन्ट, काठ, र टायलले बनेको दुई तले कच्ची घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भई आगलागी भएको हो । आगलागीबाट सुन ११ तोला (अन्दाजी मुल्य १५ लाख), नगद ४ लाख, चाँदी ५ तोला अन्दाजी मुल्य ८ हजार), धान ३५ मुरी अन्दाजी मुल्य ८० हजार) मकै ६ मुरी (१२ हजार), तोरी ६ मुरी (५० हजार), मोबाइल २ थान (२५ हजार), लत्ता कपडा ( एकलाख ५० हजार), घर गोठ (२० लाख) बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

घर नजिकै पश्चिम पट्टी रहेको आत्म लालका भाइ लिला नाथ चौलागाइँको ३ तले पक्की घरको सिसा आगोको तापले फुट्न गई स्थानीय ३५ बर्षिया प्रकाश चौलागाइँको टाउकोमा चोट लागेको छ । करिव साढे तीन घण्टापछि प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

यता आगलागीको बिषयमा हेटौँडा–६ वडाध्यक्ष विष्णु बहादुर दाहालले नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रको लापरबाहीले आगलागी भएको आरोप लगाएका छन । पटक–पटक प्राधिकरणलाई घर नजिकैको काठको पोललाई व्यवस्थापन गर्न आग्रह गरेपनि कार्यान्वयन नहुँदा घटना भएको उनको भनाई छ ।

हेटौंडा ६ रामनगरमा आगलागी