हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनको लागि कोइलाको सट्टा प्लास्टिक जन्य वस्तु चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको छ ।

बुधवार राती स्थानीयले दर्जन बढी ट्रकमा प्लाष्टिकको फोहर उद्योग भित्र लादै गरेको भेटेपछि उद्योगले कोइलाको सट्टा प्लास्टिक मिसाएर क्लिङ्कर उत्पादन गरेको कुरा सार्वजनिक भएको हो । उद्योगले देशका विभिन्न क्षेत्रबाट संकलन गरिएको फोहरजन्य प्लास्टिक इन्धनको रुपमा प्रयोग गरेपछि त्यसबाट निस्केको धुँवाले वातावरण प्रदुषण हुनुका साथैं मानव स्वास्थ्यमा पनि असर परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

सुवास चौलागाइँले धुवाँ, धुलो प्रदुषणबाट प्रताडित हुनुपरेको गुनासो गरे । उनले प्रत्येक घरमा स्वासप्रस्वास, छाला र एलर्जी सम्बन्धी समस्या भोग्नुपरेको गुनासो गरे । विभिन्न स्थानबाट फोहोर संकलन केन्द्रबाट ल्याइएको प्लास्टिकजन्य वस्तु उद्योग परिसरमा थुपारिएको अवस्थामा हेटौँडा–१६ र हेटौँडा–१७ का वडाअध्यक्ष सहित गएको स्थानीयको टोलीले फेला पारेको थियो ।

क्लिङ्कर उत्पादनको लागि उद्योगले लामोसमयदेखि प्लास्टिक जन्य वस्तु प्रयोगमा ल्याएको उद्योगका एकजना कर्मचारीले बताए । दिनहुँ प्लास्टिक जलाउँदा स्थानीय समस्यामा परेको भन्दै बिहीवार बिहान स्थानीयले उद्योग भित्र प्रवेश गरेर विरोध गरेका हुन । उनीहरूले तत्काल उद्योगको उत्पादन बन्द गर्नुपर्ने माग गरेका छन् । स्थानीयको नेतृत्व गर्दै उद्योग परिसरमा पुगेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला र १७ का वडा अध्यक्ष उद्धव सत्यालले उद्योग प्रशासनले आफुहरु सङ्ग कुरा गर्न नखोजेर पन्छिएको बताए । उद्योगले प्लास्टिक बालेर मानव स्वास्थ्य विरुद्ध काम गरेको जनप्रतिनिधिहरूको आरोप छ ।

बस्तीको बिचमा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्केको धुलो, धुँवा तथा ध्वनी प्रदुषणले छेउमै रहेको विद्यालयका साना साना बालबालिका सिधै प्रभावित भएका छन । यहाँका स्थानीयवासीहरू बर्षैदेखि आफ्नो खेतीपाती छोड्नुपर्ने स्थितीमा पुगेका छन । खेती मात्रै होइन करेसाबारीमा लगाउने तरकारी समेत सिमेन्टको धुलोका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको हेटौँडा–१७, लक्ष्मीपुरका स्थानीय उदय चौलागाईले बताए । उनले सिमेन्ट उद्योगको कम्पनका कारण गाईबस्तुको प्रजनन क्षमता ह्रास हुँदै, गर्भतुहिने अवस्थामा गएको गुनासो गरे ।