हेटौँडा । जलवायु परिवर्तनका कारणले वनस्पति प्रणालीमा आएको फेरबदले समय अगावै लालीगुराँस फुल्न थालेको छ । मकवानपुरको भिमफेदी स्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा समय अगावै गुराँस फुल्न थालेको हो ।

स्थानीयवासीको अनुसार फागुन–चैतदेखि फुल्ने गुराँस पछिल्लो समय मङ्सिरको अन्तिमदेखि नै फाटफुट फुल्न थालेको हो । पछिल्लो समय जलवायु परिवर्तनले वनस्पतिको जीवनचक्रमा पारेको प्रभावका कारण पनि समय अगावै गुराँस फुल्न थालेको छ ।

दामनका स्थानीय राजेन्द्र भुजेलका अनुसार फागुन चैतदेखि फुल्ने गुराँस समय अगावै फुलेको हो । “पहिले पहिलेको जस्तो लालीगुराँस फुल्न छोड्यो, रुखहरू बुढो हुँदै गए, दाउरामा परिणत भए, नयाँ बिरुवाको संरक्षण भएको छैन,”–उनँले भने । दामनका स्थानीय सुरज अधिकारीले विगतको तुलनामा दामनमा गुराँस लोप हुँदै गएको बताउँदै बोटहरू मर्दै गइरहेकोमा चिन्ता व्यक्त गरे ।

विशेष गरेर उच्च भाग र चिसो ठाउँमा पाइने गुराँस उचाइ, आद्र्रता, चाप, पानी, सुख्खा र माटोको प्रकृतिका आधारमा पनि ढिलोचाडो फुल्ने गरेको वनस्पति विज्ञ रघुराम पराजुलीले बताए । जलवायु परिवर्तनका कारण वनस्पतिको जीवनचक्रमा देखिएको फेरवदलले पनि गुराँस फुल्ने समयमा परिवर्तन भएको उनको भनाई छ । पछिल्लो समय कम उचाइमा पाइने वनस्पति माथिल्लो उचाइमा देखिएको जानकारी दिर्दै उनले माथिल्लो भागमा पाइने वनस्पतिहरू लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

जिल्लामा पाइने गुराँसको अध्ययन, अनुसन्धान नभए पनि यहाँ करिब आधा दर्जन प्रजातिको रातो, सेतो र दुर्लभ तथा लोपोन्मुख चिमाल प्रजातिको गुराँस पनि भेटिएको छ । यहाँको पर्वतीय वनस्पति उद्यान, दामनले पनि गुराँसको संरक्षण र प्रवद्र्धन गरिरहेको छ । वनस्पति विज्ञ पराजुलीका अनुसार गुराँसको फुल माछाको काडा घाटीमा अड्कँदा, पेट सम्बन्धी रोग र साजसज्जाका लागि पनि उपयोगी हुने गरेको छ ।

समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटरको उचाइमा गुराँस फुल्ने गर्दछ । दामनको मुख्य आकर्षणको रूपमा पनि रहेको यो फुल फुलेपछि डाँडाकाँडा नै रङ्गिन र मनमोहक हुन्छ । लालीगुराँसको बोट १० सेमीदेखि २० मिटरसम्म अग्लो हुन्छ । पातको लम्बाइ लगभग पाँचदेखि १५ सेमीसम्म हुन्छ । फूलको आकार औसत अरू फुलभन्दा केही ठुलो हुन्छ । घण्टीजस्तो देखिने १५ देखि २० वटा फुलका झुप्पा भई फुल्छ । रूखको उचाइ र आकार ठाउँअनुसार फरक हुन्छ । यो रातो, गुलाबी, सेतो आदि रङ्गको हुन्छ । पहाडी भू–भागमा यसको रूख मध्यमखालको हुन्छ भने उच्च पहाडी भागमा धेरै ठुलो र झ्याम्म परेको हुन्छ ।

नेपालका ४३ जिल्लामा ३३ प्रजातिको गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ । मकवानपुरमा पाइने गुराँसहरूको आवश्यक अध्ययन र संरक्षण हुन जरुरी रहेको वनस्पति विज्ञ पराजुलीको भनाई छ ।