हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गर्ने बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले प्रदेश सरकार विरुद्ध दर्ता भएको रिट निवेदनको सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेका हुन ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न बैशाख १३ गते समिति गठन गरेसंगै प्रा.डा. जोशी निलम्बित भएका थिए । सर्वोच्चको आदेशपछि प्रा.डा. जोशी काममा फर्कने छन । सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै प्रा.डा. जोशीले प्रतिष्ठानको कामकारवाहीबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । प्रा.डा. जोशीले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्रदेश सरकारले छानविन समिति गठन गरेको थियो ।
उपकुलपतिविरुद्ध छानविन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित हुने व्यवस्थाकै वैधानिकतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चले प्रदेश सरकारविरुद्ध कारण देखाउ आदेश समेत जारी गरेको अधिवक्ता मुकुन्द अधिकारीले जानकारी दिए । प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए ।
साभारः समृद्ध समाज












प्रतिक्रिया दिनुहोस्