हेटौंडा । हेटौंडाका सचेत युवाहरुको समुहले हेटौंडाको बसपार्कमा रहेको दर्जन बढी खाल्डाखुल्डी आफैं पुरेका छन ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुटुमा रहेको बसपार्क क्षेत्रमा रहेका दर्जन बढी खाल्डाखुल्डी सार्वजनिक सेवा सुधार संघर्ष समितिका सचेत युवाहरु मिलेर पुरेका हुन । पुर्व पश्चिम राजमार्गको मध्य बिन्दुमा रहेको हेटौंडा बसपार्क क्षेत्रमा दर्जन बढी खाल्डाखुल्डीका कारण सडक दुर्घटनाको उच्च जोखीम बढेको भन्दै संघर्ष समितिका युवाहरु आफैंले बेल्चा बोकेर सडकमा उत्रिएका थिए । हेटौंडा बसपार्क क्षेत्र अस्तव्यस्त पार्किङ, फोहर र खाल्डाखुल्डी युक्त क्षेत्र बनेको छ ।

वडा नं. १० मा रहेको बसपार्क क्षेत्रको मर्मत संभारमा वडा कार्यालय, हेटौंडा उपमहानगरपालिका कार्यालय, सडक डिभिजन कार्यालय र सम्बन्धीत निकाय कसैले पनि ध्यान नदिएकाले यो क्षेत्रको कन्तबिजोग भएको संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरीले बताए । पुर्वपश्चिम राजमार्गको केन्द्र भागमा बसपार्क रहेकाले हेटौंडाबाट आवतजावत गर्ने यात्रुले समेत हेटौंडाको बसपार्कमा सास्ती भोग्नु परेको छ । उनले सम्बन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण पनि गराए ।

हेटौंडा १० का स्थानीय ज्ञानेन्द्र कार्कीले सचेत युवाहरुले गरेको कामको प्रशंसा गरेका छन । उनले हेटौंडा अस्पताल सुधार र बसपार्कको खाल्डाखुल्डी पुर्न सचेत युवाहरुले देखाएको उत्साहको प्रशंसा गर्दै राज्यले आफ्नो काम बिर्सन नहुनेप्रति ध्यानाकर्षण समेत गराए ।

सार्वजनिक सेवा सुधार संघर्ष समितिमा हेटौंडाका सचेत युवाहरु दिपेन्द्र चन्द ठकुरी, दिनेश लामा वाइवा, रामशरण कार्की, कृष्णराज कोइराला, किशोर अर्याल, रमेश ठकुरी, बिरेन्द्र श्रेष्ठ, शिव थापा, विवेक शाह लगायतका युवाहरु रहेका छन ।

उनीहरुले यसअघि हेटौंडा अस्पतालको सेवा सुधारको माग गर्दै अस्पतालमा अभियान चलाएका थिए । आम नागरिकले सहज, सरल र सहि तरिकाले स्वास्थ्य सेवा पाउनु पर्ने लगायत अस्पतालको सेवा सुधारका लागि १५ बुँदे सहमति गरेका थिए । संघर्ष समितिले मकवानपुर जिल्लामा हुने गलत, बेतिथी, भ्रष्टाचार लगायतका बिषयमा आवाज उठान गर्ने जनाएको छ ।