हेटौंडा । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले त्यही जात्रा देख्न सकिन्छ । हेटौंडाका नगरवासीले तिरेको करको दुरुपयोग गर्दै अहिले हेटौंडा उपमहानगरपालिकाले ढुंगा माथि वृक्षरोपण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले हेटौंडाको राप्तीतट क्षेत्रमा खोलाको पानीको वहाव र कटान रोक्न गरिएको ढुंगाको तारजाली माथी टायर राखेर ढुंगामै वृक्षरोपण गरेका हुन् । उनीहरुले तार जाली गरिएको ढुंगामाथि वृक्षरोपण गरेको फोटोप्रति सामाजिक संजालमा पनि चर्को आलोचना भएको छ । समय र पैसाको बवार्दी संगै मेयर लामा र प्रमुख प्रशासकिय अधिकृतले पाएको अख्तियारी दुरुपयोग गर्दै ढुंगा माथि नै वृक्षरोपण गरेका हुन् ।

बृक्ष रोपिनु आफैंमा राम्रो काम भएपनि ढुंगा माथि रोपिएको बृक्षको जरा कहाँ जान्छ र त्यो कस्तो प्रकारको वृक्षरोपण हो भनेर आम नगरवासीहरुले अहिले प्रश्न उठाएका छन् । हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले अभिभावकको रुपमा गरेको यस्तो कामले आम नगरवासीले कस्तो अपेक्षा गर्ने भन्ने अहिले प्रश्न चिन्ह खडा भएको छ । राप्ती तटको ढुंगा सहितको तारजाली माथि केही माटो राखिएको छ र त्यहाँ विरुवा रोप्न मेयर लामा र प्रमुख प्रशासकिय अधिकृत चौलागाईले गरेको वृक्षरोपणले अहिले आम नगरवासीलाई गिज्याईरहेको छ, अनि भनिरहेको छ यो हेटौंडा उपमहानगरपालिकाको कस्तो वृक्षरोपण हो ?

मेयर लामाको नेतृत्वमा प्रत्येक शनिवार गरिएको सरसफाई कार्यक्रम तथा वृक्षरोपण आफैंमा सकारात्मक काम भएपनि ढुंगामाथि गरिएको वृक्षरोपणलाई आम नगरपालिकावासीले अनौठो वृक्षरोपण मानेका छन् ।

वृक्षरोपणमा व्यापक अनियमितता
हेटौंडा उपमहानगरपालिकाले वृक्षरोपण कार्यमा व्यापक अनियमितता गरेको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङले नै उपमहानगरपालिकाले वृक्षरोपणमा व्यापक अनियमितता गरेको प्रष्ट पारेको हो । प्राप्त तथ्याङक अनुसार आर्थिक बर्ष २०७४ देखि २०७९ सम्म ३० हजार १३५ वटा विरुवा वृक्षरोपण गरेको महानगरपालिकाले त्यसका लागि लागेको खर्च, इन्धन, मानव संसाधन र विरुवामा लागेको खर्चको विवरण लुकाउनुले अनियमितता भएको छर्लङ हुन्छ ।

तथ्याङक अनुसार हेटौंडा बजारका १८ स्थानमा वृक्षरोपण गर्नका लागि ३० हजार १३५ विरुवा प्रयोग भएका छन् । औषतमा हेर्ने हो भने ५ बर्षको अवधिमा बजार क्षेत्रका १८ स्थानको प्रत्येक ठाउँमा १६ सय ७४ विरुवा वृक्षरोपण भएको छ । नगर क्षेत्रमा कुनैपनि ठाउँमा यो संख्यामा विरुवा वृक्षरोपण गर्ने स्थान छैन । नगरपालिकाको तथ्याङकलाई आधार मान्दा केही विरुवा मरे, केही गाडिले किचे, केही पुनः रोपिए तर कहि कतै पनि नगरपालिकाले दिएको तथ्याङक अनुसार कुनै पनि स्थानमा यतिका संख्यामा विरुवा रोपण गर्ने स्थान नै छैन । नगरपालिका संग सो विरुवा रोपणका क्रममा भएको खर्च, इन्धन, मानव संसाधन कुनैपनि कुराको पारदर्शी हिसाव किताव छैन ।

हेटौंडा बजारको स्कुलरोड (पारिजातपथ), अजर अमर रोड, भूटनदेवी स्कुल रोड, वाइपास, नगरपालिका रोड, लोकप्रिय रोड, आखाँ अस्पताल रोड, क्याम्पा डाँडा सडक पेटी, माछापालन पेटी, कान्तीलोकपथ डिभाइडर, सानोपोखरा चोक पेटी, लाइन्स मार्ग, भैरव रोड, बुद्ध पार्क अगाडि, जिल्ला प्रहरी कार्यालय, हेटौंडा अस्पताल अगाडि, सोलिड्यारिटी रोड र राप्ती पार्कमा ३० हजार विरुवा रोपण गरिएको भनिएपनि हाल ३ सय वटा पनि विरुवा मुस्किलले भेटिन्छ ।

सो क्षेत्रहरुमा नगरपालिकाले अशोक, कल्की, कपुर, बगमबेली, तेजपत्ता, चेरी, निलकाडाँ, धुपी, आप, लिच्ची, कटर, जामुन, अमला, असारे, इमली, अम्बा, गुल्मोर चाइनिज, गुल्मोर लोकल, जाकरकण्डा, रंगुन, मसुण्डा, रंगुन, घण्टे फुल, टिकुमा, सिजियम, फरकेरीया, लैला मन्जुन, सिता अशोक, निम, राज बृक्ष, एरिया पाम, फोनेस पाम, समी र क्रोटन जातको विरुवा रोपण गरेको दावि गरेपनि यहाँ केही जातका केही मात्रै विरुवा रहेको छ ।

आम नगरवासीले तिरको कर र राज्यको ढुकुटी दोहन गरेर ढुंगा माथि वृक्षरोपण गर्नु र रोपण गरिएको विरुवाको कुनै हिसाव किताव नहुनु तथा आर्थिक पारदर्शीता नहुनुले हेटौंडा नगरपालिकाको कार्यशैलीप्रति अहिले प्रश्न चिन्ह खडा भएको छ ।

अनिल पराजुली
थप जानकारी