हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता हुनु जरुरी रहेको बताएका छन् । शनिबार हेटौंडामा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे पनि अन्ततः विभिन्न समस्याका कारण यस क्षेत्रबाट पलायन हुने गरेको सन्दर्भ देखिएको प्रमुख घलानले उल्लेख गरे । उनले चुनौतीहरुको न्युनिकरण गर्दै पत्रकारितामा जनजाति पत्रकारहरुको निरन्तरतामा जोड दिए । यस्तै आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिताका समग्र विषयलाई मध्यनजर गर्दै समुदायगत विशिष्ट विषय वस्तुलाई प्राथमिकतामा राख्न जोड दिएका छन् ।

यसैगरि, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले समाचारका विषयवस्तु समावेशी ढंगले प्रकाशन प्रसारण हुन संचार गृहको न्युज रुम (समाचार कक्ष) समावेशी हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले आदिवासी जनजाति पत्रकार संगठन र जनजाति महासंघबीच निकटको सम्बन्ध रहेको उल्लेख गरे । जनजाति पत्रकारहरुले आदिवासी जनजाति समुदायको आवाजको रुपमा भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा उक्त भूमिका सशक्त बन्दै जाने विचार व्यक्त गरेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले हालको सन्दर्भमा आदिवासी जनजाति पत्रकारहरुले आर्थिक लगायत विभिन्न चुनौतिहरुको सामना गर्दै पत्रकारितामा निरन्तरता दिइरहेको स्थिति रहेको उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको आदिवासी जनजाति जनप्रतिनीधिहरुले फोनिज संगठनहरुलाई थोरै मात्रामा आर्थिक एवम् भौतिक सहयोगका कार्यक्रममा जोडिन सकिए स्थिति सहज हुनसक्ने महासचिव सारु मगरले विचार व्यक्त गरेका छन् ।

भेलाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष सम्झना कार्की, महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस चौतारी नेपाल, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, फोनिज केन्द्रका सुरेश श्रेष्ठ, फोनिज केन्द्रीय पार्षद सुवर्णलाल श्रेष्ठ, समाजवादी प्रेस संगठन मकवानपुरका उपाध्यक्ष जी न्यौपाने, थारु कल्याणकारी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा भएको हो ।