हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका स्थानीयले शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने माग गरेका छन् । बकैया गाउँपालिकाको आयोजना तथा कान्छा मिडिया प्रालिको संयोजनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडावासीले गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यक्रममा केन्द्रीत हुनेपर्नेमा जोड दिएका हुन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले कक्षा ५ मा पढ्ने विद्यार्थीलाई सामान्य नेपाली भाषामा लेखिएको अक्षर चिन्न र पढ्नसमेत कठिन हुने गरेको भन्दै पालिकाको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै पालिकाबाट हुने सेवा प्रवाह र विकास निर्माणको काममा गुणस्तर कायम गर्न नियमित अनुगमन तथा निर्देशनलाई तिव्रता दिनुपर्नेमा जोड दिएको छ । सडक निर्माण वा खानेपानी वितरणका विषयमा एकीकृत विकास मोडल अपनाउन पालिकाले अग्रसरता देखाउनु पर्ने वडावासीको भनाई छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीहरुले शिक्षा सहित भौतिक पूर्वाधार, खानेपानी, ढुंगा गिट्टी, कृषि, पशुपालन, रोजगारी लगायतका बिषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरु माथि गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जवाफ दिएका थिए । कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराएका थिए । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बकैया गाउँपालिकाका ४ नं वडा अध्यक्ष राजन दंगाल, ५ नं वडा अध्यक्ष लक्ष्मी जिम्बा, ११ नं. वडा अध्यक्ष गोपाल बहादुर नेसुर, १२ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, कार्यपालिका सदस्य लगायतकाको उपस्थिती रहेको थियो ।