हेटौंडा । हेटौंडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमवार दिउँसो एक युवकको मृत्यु भएको छ ।

शौचालयमा शौच गर्न गएका २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए । बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा काफ्लेको उद्दार गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक शाहले जानकारी दिए ।

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए । यता हेटौँडा–९ का वडा अध्यक्ष सुकराम केसीले बाथरुममा अक्सिजनको कमि भएर काफ्लेको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएको जानकारी दिए ।