हेटौंडा । इस्लाम धर्मावलम्बी मुसलमानले बिहीवार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । हेटौँडास्थित जामे मस्जिदमा बिहान इदको नमाज पढेपछि एक अर्कामा शुभकामना आदान–प्रदान गर्दै मुसलमानहरूले खुसियाली मनाएका हुन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरको आयोजनामा भएको इद मिलन कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले एकआपसमा मित्रता कायम गर्ने र खुसीयाली बनाउने पव इद भएकाले महत्वपूर्ण पर्व भएको बताए । उनले नेपालमा धेरै खालका कला, संस्कृति, धर्म रहेको जिकिर गर्दै हामी सधैभरी एउटा फुलवारीमा सजिएर बसेको स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले वडाबाट मस्जिद र मदरासाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जामे मस्जिदका मौलाना अब्दुल रहमान अन्सारीका अनुसार एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलनका साथैं भाइचारा साट्ने दिन भएको बताए । मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएको खुला ठाउँ) मा भेला भएर इदको नमाज पढ्ने चलन छ । इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिएको छ । बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबई, फलफूल वा अन्य मिठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् ।

रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी इदको खुशियाली साटासाट गर्दै मनाउने गरिन्छ । प्रत्येक बर्ष मुस्लिम समुदायले आफुले कमाएको सम्पत्तिको अढाई प्रतिशत गरिवलाइ दान गर्नुपर्ने धार्मिक प्रचलन रहर्दै आएको छ ।

हेटौँडा–४ मा २०१६ सालमा जामे मस्जिद स्थापना भएको थियो । हेटौँडा–११ थानाभ¥याङमा अवुवकर मस्जिद र हेटौँडा–४ कमलडाडामा विलाल मस्जिद रहेको छ । हेटौँडा–१ जरुवाटोलमा मदरासा दारुल कुरानमा हाल ४० जना गरिव तथा अनाथ बालकहरुले शिक्षा लिइरहेका छन । मकवानपुर, बारा, पर्सा, रौतहट लगायतका क्षेत्रका मुस्लिम समुदायले यहाँ शिक्षा लिइरहेका छन । हाल मकवानपुरमा करिव पाँच हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश अध्यक्ष महमद समिम (समिम खान)ले बताए ।