हेटौँडा । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ।
हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले आइतबारदेखि अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो।
अभियानका संयोजक विशालराज महतले हेटौँडा अस्पताल जोगाउन आफूहरू विगतका दिनदेखि नै अभियानमा लागेको बताउँदै हस्ताक्षर अभियान एक हप्तासम्म चल्ने जानकारी दिए।
उनले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग रहेको बताए।
यस्तै, स्वास्थ्य सेवाअन्तर्गतका संरचना विवादरहित रूपमा सञ्चालन गर्नुपर्ने, हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानमा जाने गरी निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ खारेज हुनुपर्नेलगायतका विषयमा सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको उनको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्