हेटौँडा। हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यस  क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । यहाँ अनेरास्ववियु र नेविसंघबिच गठबन्धन भएको थियो ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार कुल खसेको ३७४ मतमध्ये २५१ मतसहित मैनाली विजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्याशी अखिल क्रान्तिकारीका दीपक वाइबाले ११९ मत प्राप्त गरे ।

स्ववियुमा मैनालीकै प्यानलबाट पदाधिकारीहरू निर्वाचित भएका छन् । सचिवमा गणेश तिमिल्सिना २७१ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का ईश्वर ढुंगेलले ९१ मत पाए ।

यसैगरी, कोषाध्यक्षमा २३६ मतसहित नेविसंघका सुरज बोलखे निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीकी प्राश्ना दोङलाई पराजित गरे । दोङले ११५ मत पाइन् ।

यस्तै, सदस्यमा पनि मैनाली नेतृत्वका शिशिर ढकाल २६४ मत, नितेश भण्डारी २५६ मत, नितिशकुमार यादव २४८ मत, मुना सिकारी २४७ मत र अखिलेशकुमार यादव २३८ मतसहित निर्वाचित भएका छन् ।

सदस्यको प्रतिस्पर्धामा रहेका अखिल क्रान्तिकारी प्यानलका सुस्मिता थिङ १०९ मत, प्रमिला सिन्तान ११४ मत, स्वस्तिका सिन्तान १०५ मत, अस्मिता थोकर १०८ मत र प्रकाशमान गोलेले ८३ मत प्राप्त गरी पराजित भए।

६८५ जना मतदाता रहेको हेटौँडा क्याम्पसमा जम्मा ३७४ मत मात्रै खसेको थियो । मंगलबार सम्पन्न निर्वाचनको मतगणना रातिबाटै सुरु गरेर बुधबार बिहान सम्पन्न भएको सहायक क्याम्पस प्रमुख मनोज पोखरेलले जानकारी दिए ।