हेटौँडा । हेटौँडामा जिल्ला स्तरीय अनुगमन टोलीले गरेको अनुगमनमा निजी मेडिकलहरू मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । जिल्ला स्तरीय अनुगमन टोलीले निजी मेडिकलहरू गैर जिम्मेवार र मापदण्ड विपरीत सञ्चालन भएको पाएको हो ।

हेटौँडा उपमहानगरपालिका–१० राप्ती रोडमा सञ्चालनमा रहेका मेडिकलहरूको अनुगमन गर्दा मापदण्ड विपरीतका मेडिकल सञ्चालनमा रहेको पाइएको छ । हेटौँडा–१० राप्तीरोडमा रहेको हेटौँडा फिजियोथेरापी सेन्टर, न्यू त्रिवेणी मेडिकल सेन्टर, गुराँस पोलिक्लिनिक र हँस डेनटल क्लिनिकको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सरसफाइको अभाव, मेडिकल दर्ता, नवीकरण नगरिएको, नागरिक बडापत्र नराखिएको र औषधिको बिल नदिने गरेको पाइएको हो ।

बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । अनुगमनको क्रममा कैफियत भेटिएका मेडिकललाई सुधारका लागि सल्लाह सुझाव दिइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजारले दर्ता प्रक्रियामा र नवीकरण गर्न बाँकी रहेको भेटिएको बताए । उनले सरसफाइ र व्यवस्थापनमा पनि समस्या देखिएको जानकारी दिए । ‘अनुगमनको सुरुवात भएको छ, अब नियमित अनुगमन गछौँ, सुधार गर्न सुझाव दिन्छौँ,’–कार्यालय प्रमुख मिजारले भने ।

यस्तै मेडिकल सञ्चालकहरूले हेटौँडाको सडक बिस्तार अन्यौल भएकाले व्यवस्थित रूपमा संरचना निर्माण गर्न नसकेको बताए । उनहरूले सडक बिस्तारको टुङ्गो नलागेकाले स्थायी संरचना र व्यवस्थित गर्न नसकेको स्विकारे । हेटौँडा विस्तारको विषय अन्यौल हुँदा यहाँका व्यवसायी पनि अन्यौलमा परेका छन् ।

बागमती प्रदेश सरकारले करिब एकबर्ष नयाँ दर्ता रोकेपछि हाल एक महिनाअघिबाट अनलाइन मार्फत दर्ता, नवीकरण प्रणाली ल्याएको छ । जनस्वास्थ्य कार्यालयले २५ बेड हस्पिटल, पोलिक्लिनिक र डेनटल क्लिक दर्ता र नवीकरण गर्ने गरेको सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । हस्पिटल, पोलिक्लिनिक र डेनटल क्लिक गरेर ३७ वटा दर्ता भएको छ भने ९ वटा प्रक्रियामा आएको उनले बताए ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजार, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा दीपक कुमार पौडेल, हेटौँडा उपमहानगरपालिकाका सिनियर अहेव केशव तिमल्सिना, हेटौँडा अस्पतालका मेडिकल जनरलिष्ट डा.घनश्याम प्रताप शाह, नेपाल औषधि व्यवसायी सङ्घका महासचिव भरत कार्की, उपभोक्ता संरक्षण मञ्च मकवानपुर अध्यक्ष गीता मैनाली, जनस्वास्थ्य कार्यालय मकवानपुरका सहायक पाँचौँ दिपाल मल्ल लगायतकाले संयुक्त रूपमा बजार अनुगमन गरेका थिए ।