हेटाैँडा । ‘प्रदेश युवा सम्मेलन २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । तीनदिन सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने छ । प्रदेश युवा परिषद्ले आयोजना गर्न लागेको यो तेस्रो श्रृङ्खला हो ।

बागमती प्रदेश सरकारले यस युवा सम्मेलनलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै वार्षिक रुपमा बजेट समायोजन गरेको छ । फलस्वरुप बितेका दुई आर्थिक वर्षमा १० हजार पाँच सयभन्दा बढी युवाले सीप सिकेका थिए भने सीप सिकेका चार सय पाँच जना युवा उद्यमशीलतामा जोडिएको प्रदेश युवा परिषद्ले जनाएको छ ।

शनिबार बागमती प्रदेश युवा परिषदले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिदेखि सुरु हुने कार्यक्रम ढाँचा र उद्देश्यबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले बागमती सरकारको नीति कार्यक्रम र बजेटमै युवा सीप वर्ष घोषणा गराउन परिषद् सफल भएको उल्लेख गरे ।

‘‘सरकार शासनमा युवा सहभागिता खोज्ने, युवा शासनमा आफ्नो भूमिका नदेख्ने परिपार्टीलाई अन्त्य गर्दै युवा र सरकारलाई एकै थलोमा राखेर युवामैत्री नीति निर्माणमा युवा र सरकारबिच संवाद गराउन्दै आएका छौं,’’ उनले भने ।

बागमतीमा गत २०८० सालदेखि युवा सम्मेलनको आयोजना हुँदै आएको छ । सम्मेलन प्रदेशस्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्धन गर्न महत्त्वपूर्ण अवसरको रुपमा स्थापित भएको छ । सम्मेलनमा भौतिक रुपमा तीन सय युवाको सहभागिता रहेता पनि डिजिटल माध्यमबाट लाखौं युवालाई सहभागी गराउने  परिषद्को योजनाछ ।

सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् ।