हेटौँडा  । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि नगर क्षेत्रका १९ वटा वडामा जम्मा ३२ करोड २५ लाख ६५ हजार रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको छ। गत असार १० गते सार्वजनिक गरिएको दुई अर्ब ९० करोड तीन लाख रुपैयाँको समग्र बजेटपछि वडा तहमा पनि बजेट छुट्याइएको हो ।

नगर प्रवक्ता सविन न्यौपानेका अनुसार, प्रत्येक वडाको भौगोलिक अवस्था, स्रोतसाधन, क्षेत्रफल तथा विकास अवस्था हेरी एक करोड ५५ लाख २३ हजारदेखि दुई करोड १८ लाख ९८ हजार रुपैयाँसम्म बजेट सीमा निर्धारण गरिएको हो । वडालाई दिइएको बजेट सीमाअनुसार वडाहरूले नगरपालिकालाई योजनाहरू समावेश गरेर उपलब्ध गराएका छन् ।

योसँगै गत बुधबारबाट आगामी आर्थिक वर्षको बजेटको पुस्तिका तयार पार्ने काम सुरु भएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार वडालाई बजेटको सिलिङ पठाइसकेको र आगामी आर्थिक वर्षदेखि उपलब्ध बजेटबाटै १५ लाख रुपैयाँ बजेट प्रशासनिक कार्यमा खर्चिन सक्नेछन् ।

भौगोलिक विकटता, स्रोतसाधनको उपलब्धता, क्षेत्रफल, विकासका गतिविधिलगायतका आधारमा १९ वटा वडाहरूमा बजेट सिलिङ तोकिएको हो । बजेट सीमा निर्धारण गर्दा बढी सुगम र कम विकट भएका वडाहरूलाई ‘क’ वर्ग, साबिकको वडामा मिसिएका सुगम र दुर्गम बराबरी भएका क्षेत्रलाई ‘ख’ वर्ग र अत्यन्तै विकट क्षेत्रलाई ‘ग’ वर्गमा राखिएको छ ।

उपमहानगरपालिकाले २, ४, ५, ६, ७, ८, ९, १० र ११ नम्बरका वडालाई एक करोड ५५ लाख २३ हजार रुपैयाँ १, ३, १२, १३, १४, १५, १६ र १७ नम्बर वडालाई एक करोड ७६ लाख ४७ हजार वडा नम्बर १८ लाई एक करोड ९७ लाख ७३ हजार र वडा नम्बर १९ लाई  दुई  करोड १८ लाख ९८ हजार रुपैयाँ बजेट सीमा तोकेको छ । यस्तै, हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि वडाहरूलाई २० लाख रुपैयाँसम्मको योजना वडाबाटै सम्पन्न गर्न पाउने अधिकार प्रदान गर्ने भएको छ । जसले सानातिना कामका लागि नगरपालिका धाउन नपर्ने र यसले वडाको कार्यव्यवस्थालाई बलियो बनाउने विश्वास विश्वास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको दायित्व ४० करोड रुपैयाँको हाराहारीमा रहेको प्रवक्ता न्यौपानेले बताए । हेटौँडा उपमहानगरपालिकाले आगामी वर्षमा मुख्यतया ढल निकास, खानेपानी व्यवस्थापन, खेलकुद प्रवर्द्धन, स्वास्थ्य संस्थाको स्त्तरोन्नति र भौतिक संरचनालगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यसअघि गत १० असारमा हेटौँडा उपमहानगरपालिकाले कुल दुई अर्ब ९० करोड तीन लाख रुपैयाँको बजेट ल्याएको छ । हेटौँडाले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ८६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । आगामी आर्थिक वर्षमा हेटौँडाका लागि संघीय सरकारबाट एक अर्ब १९ करोड ५० लाख रुपैयाँ अनुदान प्राप्त हुने र नगर विकास कोषको ऋणबाट तीन करोेड ६० लाख रुपैयाँ बजेटको स्रोतमा व्यहोर्ने अनुमान  हेटौँडा उपमहानगरको छ ।