हेटौँडा। मकवानपुर प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका- ५, सानो पोखरामा प्रहरीले बिहीबार बिहान गरेको कारबाहीमा आठ हजार तीन सय पिस लागुऔषध ट्रामाडोलसहित पाँचजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाँचजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङ्तान, हेटौँडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ का २० वर्षीय निशान कोइराला, हेटौँडा–२२ का ३५ वर्षीय राजीव लामा (बक्सर) र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दीपेश सन्जेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले बिक्री-वितरणका लागि खाली जग्गामा लुकाएर राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल फेला परेको हो।
साथै, प्रहरीले उनीहरूले प्रयोगमा गरेको ना३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल र पाँच थान मोबाइल पनि बरामद गरेको छ। बरामद लागुऔषध र मोटरसाइकलसहित पाँचैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्