चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिको अवसरमा पवित्र देवघाटमा स्नान गर्न जाने दर्शनार्थीका लागि निःशुल्क बस व्यवस्था गरेको छ । प्याब्सन जिल्लासित सहकार्य गरेर दर्शनार्थीलाई सहज आउजाउ गर्न निःशुल्क बसको व्यवस्था मिलाइएको प्रशासनले जनाएको हो ।

भरतपुरको आँपटारीदेखि देवघाटसम्म ओहोरदोहोर गर्न १० वटा बसको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘आँपटारीबाट सिधै देवघाट आउजाउ गर्न बन्द गरिएको छ,’ उनले भने, ‘फर्किंदा मात्रै त्यो बाटो प्रयोग हुन्छ, स्नान गर्न आउने मर्कामा नपरून भनेर बसको व्यवस्था गरेका हौं ।’ उनका अनुसार बिहीबार बिहान साढे ६ बजेबाट दुवैतर्फबाट बस संचालन हुनेछन् । आँपटारीबाट देवघाटसम्म सडकमा एकतर्फी फर्किन मिल्ने गरी रुट निर्धारण गरिएको छ । आफ्नै सवारी साधनबाट देवघाट जाँदा रामनगर हुँदै जानुपर्ने छ ।

चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटको बेनीमा बाँसको लिंगो ठड्याएर बुधबारबाट माघे संक्रान्ति मेला सुरु भइसकेको छ । यस वर्ष देवघाटमा ३ लाख दर्शनार्थी मेला भर्न आउने अनुमान गरिएको छ । मेलामा अप्रिय घटना नहोस् भनेर जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको छ । नदीमा उद्दारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् ।

देवघाट क्षेत्र विकास समितिले देवघाटलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेकाले प्लाष्टिकको झोला नल्याउन समेत अपिल गरेको छ ।