काठमाडौँ । भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि उच्च सावधानी अपनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि त्यस क्षेत्रबाट भित्रिने नाकामा उच्च सावधानी अपनाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पश्चिम बङ्गालमा देखिएको भाइरस नेपालमा पनि देखिन सक्ने भएकोले उच्च सतर्कता अपनाएको जानकारी दिए। छिमेकी मुलुकमा भाइरस फैलिएपछि नेपालमा पनि उच्च जोखिममा रहेको जानकारी दिँदै उनले सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरिएको बताए। उनले निपाह भाइरसको शङ्का लागेका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पताल पनि तोकिएको जानकारी दिए।
प्रवक्ता बुढाथोकीले भारतको सीमाक्षेत्रमा रहेका हेल्थ डेस्कमा सङ्क्रमणको लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिएको जानकारी दिए। उनले निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट मात्र सर्ने जानकारी दिए। विश्वको तथ्याङ्क हेर्दा निपाह भाइरसले ३३ प्रतिशतको मृत्यु हुने गरेको उल्लेख गर्दै उनले नेपालमा सावधानी अपनाउनुपर्ने बताए।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्ला वर्षमा विश्वका विभिन्न मुलुकमा निपाह भाइरस देखिएको जानकारी दिँदै नेपाल पनि उच्च जोखिममा रहेको बताए। निपाह भाइरस घातक र छिटो फैलिन सक्ने सङ्क्रामक रोग हो भन्दै उनले यसको उपचार लक्षणका आधारमा गरिने बताए। यो भाइरस जनावरबाट मानिसमा सर्ने रोग हो, जसका कारण मृत्यु दर उच्च रहेको छ ।












प्रतिक्रिया दिनुहोस्