हेटाैँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरको बिकट क्षेत्रमा पुगेर मतदान गरेका छन् ।
अध्यक्ष मगरले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिका वडा नं. २ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मगर र ८६ वर्षीय सन्त बहादुर प्रज्ञाले पहिलो मतदान गरेका हुन । सदरमुकाम हेटौंडाबाट करिव ५ घण्टा माेटर दुरीमा रहेको याे केन्द्र जिल्लाकाे दुर्गम र बिकट क्षेत्रमा पर्दछ।
लोकतन्त्रको सुदृढीकरणका लागि मतदान
मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष मगरले लोकतन्त्रको जग बलियो बनाउन हरेक नागरिकले मताधिकार प्रयोग गर्नु अनिवार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आफ्नो प्रतिनिधि आफैँ चुन्ने यो ऐतिहासिक र महत्वपूर्ण अवसर हो। भौगोलिक विकटताका बाबजुद पनि यहाँको उत्साह लोभलाग्दो छ। म सबै मतदाताहरूलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु।”
बिकट बस्तीमा उत्साहजनक सहभागिता
मतदान अधिकृत गोविन्द अधिकारीका अनुसार यस केन्द्रमा कुल ५३६ मतदाता रहेका छन्। सिमान्तकृत चेपाङसहित तामाङ, मगर, गुरुङ, क्षेत्री र दलित समुदायको सघन बस्ती रहेको यस क्षेत्रमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। कैलाश गाउँपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहमा आज बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ।कमलादेवी मावि, कैलाश २ मा १०:३० सम्म महिला ३३, पुरुष ६१ सहित ९४ मत खसेको छ ।
मकवानपुर २ मा नेपाली काङ्ग्रेसबाट बुद्ध लामा, एमालेबाट महेश बर्ताैला, नेपाली कम्युनिस्ट पाटीबाट लवशेर विष्ट, रास्वपाबाट प्रसान्त उप्रेती सहित २३ जना उम्मेदवार रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्