हेटाैँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा शुक्रबारबाट हेटौँडामा ‘बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव– २०८२’ सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका– १० स्थित टिसिएन चौरमा सुरु भएको महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुनेछ ।

मेला आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले महोत्सव जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्स्थापना, खेलकुद सामग्री खरिद तथा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा खेलकुद सामग्री, व्यापार तथा स्थानीय कृषि उत्पादनका करिब चार सय स्टल राखिएको छ ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरे । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले हेटौँडा ६ मा निर्माणाधीन गौरीटार रंगशालालाई अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाइरहेको बताए । उनले गौरीटार रंगशालामा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिँदै रंगशालाको निर्माण तथा विस्तारका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँभन्दा बढी बजेट लगानी गर्ने तयारी गरेको जानकारी दिए

‘हामीले हेटौँडालाई खेलकुदको हबका रूपमा विकास गर्ने गरी काम गरिरहेका छौँ । हेटौँडा– ६ स्थित गौरीटार रंगशाला त्यसको उदाहरण हो, जहाँ फुटबल र क्रिकेटको मैदान निर्माण भइसकेको छ,’ उनले भने, ‘अब प्रदेश सरकारले थप एक अर्बभन्दा बढी लगानी गरेर अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना निर्माण गर्नेछ ।’
उनका अनुसार गौरीटार क्षेत्रमा फुटबल र क्रिकेटसँगै बास्केटबल, ब्याडमिन्टन, स्विमिङ पुललगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने बहुउद्देश्यीय संरचना निर्माण गरिनेछ ।

मुख्यमन्त्री बानियाँले आगामी एक महिनाभित्र गौरीटार रंगशालामा बागमती प्रदेशस्तरीय खेल महोत्सव आयोजना गरिने जानकारी पनि दिए । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने उक्त महोत्सव सफल बनाउन जिल्ला खेलकुद विकास समितिलगायत सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

खेलाडीहरू समाज र राष्ट्रको पहिचान भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार खेलकुद क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको छ ।

मुख्यमन्त्री बानियाँले कृषि र पर्यटन क्षेत्रको विकासलाई पनि प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए । प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण र संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जन बढाउने योजना अघि बढाइएको उनले दाबी गरे ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय भलिबल, ब्याडमिन्टन, दौड तथा कराँते प्रतियोगिताहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ ।