हेटौँडा । नेपाली सेनाले भर्ना छनौटमा योग्य उम्मेदवारहरुको आकर्षण बढाउन भर्ना छनौट सम्बन्धि कार्यशाला आइतबार हेटौँडामा आयोजना गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाको आयोजना तथा गोरखबहादुर गण, सुपरेटारको समन्वयमा मध्यपृतना हेडक्वार्टर, हेटौँडामा कार्यक्रम भएको हो ।

कार्यक्रममा निर्देशनालयका निर्देशक सहायक रथी रोज प्रताप ज.ब.रा. ले सबै योग्य नेपाली युवाहरुलाई भर्नाको लागि आब्हान गर्दै आवेदकको क्षमताको आधारमा निष्पक्ष छनौट हुने बताए । सेनाले पदपूर्तीको लागि आब्हान गरेको पदहरुमा आवेदकको संख्या बढाउन र योग्य उम्मेदवारहरुलाई भर्ना बारे जानकारी दिन ‘भर्ना छनौट वर्कशप २०८२’ आयोजना गरिएको गोरख बहादुर गण, सुपरेटारका प्रमुख गणपति प्रमुख सेनानी रवीन्द्र कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा भर्ना छनौटका बारेमा निर्देशनालयका प्रमुख सेनानी निरज भण्डारी र गुणमापक परीक्षाका बारेमा प्रमुख सेनानी रवि केसीले प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा मध्यपृतनापति उपरथी विष्णु कुमार खड्का, नम्बर ७ बाहिनी अड्डा चनमनका सहायक रथी बिक्रम गुरुङ, ६ नम्बरबाहिनी अड्डा, बैरेनीका सहायकरथी शुवासजंग थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरसहित हेटौंडाक बिभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, सेवा निवृत्त सेनाका अधिकृतहरुको सहभागिता रहेको थियो ।