हेटौँडा। हेटौँडामा प्रहरीले अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा काठ बरामद गरेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो हेटौँडा– ६, चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.२०च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका– ५, क्याम्पाडाँडा क्षेत्रमा रोकी जाँच गर्न खोजिएको थियो ।

प्रहरी टोलीले जाँच गर्न खोजेपछि गाडीचालक फरार हुने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले गाडीलाई पछ्याउँदै हेटौँडा– २, सानोपोखरा चोकस्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिएको जनाएको छ ।गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा सालको फन्टा ४१ थान फेला परेको प्रहरीले जनाएको छ । बरामद काठको परिमाण ७२.५९ क्युफिट रहेको छ।

प्रहरीले काठसहित गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौँडा पठाएको जनाएको छ।