हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको भुवनेश्वर मन्दिर (पशुपति) मा हेटौंडाका स्वतन्त्र युवाहरुले सरसफाई गरेका छन् ।

भोली साउन ३० गते साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपति मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने मन्दिरमा स्वतन्त्र युवाहरुले सरसफाई गरेका हुन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

हिन्दुहरुको प्रमुख पर्वहरुमा यहाँ दर्शन गर्न आउने भक्तजनहरुको घुँईचो लाग्ने गरेको छ । प्रत्येक वर्ष तिज, शिवरात्री लगाएतका अन्य चाडपर्वमा यहाँ भिड हुने गर्दछ । पशुपति क्षेत्रमा विवाह, व्रतवन्ध लगाएतको धार्मिक कार्यक्रमहरु पनि हुने गरेको छ ।