हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले महिलालाई नेता मान्ने र विश्वास गर्ने वातावरण बनिरहेको बताएकी छन् ।

महिलाले निर्वाचनमा जित हासिल गर्छन् भन्ने विश्वास राजनितिक नेतृत्व र जितेपछि राम्रो काम गर्छ भन्ने प्रभाव मतदातामा परेको आफूलाई अनुभूति भएको उनले बताइन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको ’नेतृत्वमा महिला अब पहिला’ शीर्षकको चौथो सत्रमा बोल्दै लामाले अहिले पनि महिलालाई नेतृत्वमा ल्याउनबाट पछि हट्यो भने समाज अगाडि बढ्न सक्दैन भन्ने आभाष राजनीतिक नेतृत्व र जनतामा परेको बताइन् ।’नेताका रूपमा महिलाहरूप्रति विश्वास बढेर नै मैले आज निर्वाचन जितेको हो । अहिले पनि हामी महिलालाई नेता मान्न सकेनौं र अविश्वास गरिरह्यौं भने अगाडि बढ्दैनौं भन्ने लागेको छ,’ उनले भनिन् ।

निर्वाचनमा आर्थिक स्रोतको अभावमा महिलालाई प्रत्यक्षमा लड्न समस्या हुन्छ कि भन्ने परे पनि हेटौंडा उपमहानगरपालिकाको मेयर जित्ने क्रममा अत्यधिक पैसा खर्च गर्न नपरेको लामाको भनाइ थियो । उनले आफूलाई कसैले पनि निर्वाचन लड्न पैसा नदिएको र आफू पनि कसैकोमा निर्वाचनका लागि खर्च माग्न नगएको बताइन् ।

मतदातामा भने पैसा नभए जित्न सकिन्न कि भन्ने भान परेको लामाको भनाइ थियो । कतिपयले महिला नै भएकाले पनि हार्छ भन्ने कुरा सुनाएको उनले सुनाइन् । ’
महिला नेतृत्व विकासका लागि राज्यको भूमिका पनि महत्त्वपूर्ण हुने त्यसमा रहेका व्यक्तिहरूले कत्तिको भूमिका खेले भन्ने ध्यानमा राख्नुपर्ने लामाको भनाइ थियो । ’महिला नेतृत्वको कुरा गरिरहँदाखेरि हामीले कति अभ्यास ग¥यौं र राज्यले हामीलाई कति तिखा¥यौं भन्ने कुरा पनि छ । ती तिखार्ने स्रोत कहाँ कहाँ छन् र जिम्मेवार को को हो भन्ने कुरामा अरु निकायहरूले ध्यान दिनुपर्छ ।’

नेतृत्वमा पुगेका व्यक्तिहरूले अरुलाई नेतृत्वमा ल्याउन कति भूमिका खेल्यो भन्ने कुरा पनि महत्त्वपूर्ण हुने लामाको भनाइ थियो । ’एक्लै कहिले पनि नेता हुन सक्दैन । मैले मेरो पछाडि कति जनालाई मजस्तै बनाए, अर्को पुस्ता कसरी जम्मा ग¥यौं भन्ने कुराप्रति चनाखो हुनुपर्छ,’ उनले भनिन् ।

परिवारलाई विश्वासमा लिएर समाजलाई नेतृत्व गर्दा महिला र पुरुष सबैलाई साथमा लिनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ’एक्लै कहिल्यै नेतृत्व हुँदैन ।’

साभार इकान्तिपुर