हेटौंडा । “पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।” भन्ने कुरालाई मकवानपुरका जनप्रतिनिधिले चरितार्थ गरिदिएका छन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० बर्ष पूरा भए । यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लाग्नु भएका उदाहरणीय पात्र बनेका छन, खनाल अहिले ।

उनी वैशाख १४ गते शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागि भए । उनले निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिइरहेका छन । उनी विद्यालय पोशाक लगाएर बिहानै परीक्षामा सहभागि हुन परीक्षाकेन्द्र पुगेका थिए । उनले पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिए । सुरुको दिन शुक्रवार भएको अङ्ग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको बताउँदै राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले अब पढाइलाई निरन्तरता दिने बताए ।

मनहरी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष एवम् बाल जीवन ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खनालले शिक्षा अति नै महत्वपूर्ण रहेको र शिक्षाले नै सबै ढोकाहरू खोल्ने आफूले महसुस गरेको भन्दै आफू १२ कक्षाको परीक्षामा सहभागी भएको बताए ।

२०५६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदा हुँर्दै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बिचमै छाड्ेका हुन । ‘घरमा समस्या थियो, आर्थिक विपन्नताले एसएलसी पछिको शिक्षालाई अगाडि बढाउन सकिन’–उनले भने ।

उनी वडाबाट समय मिल्दा बेला बेलामा विद्यालय अध्ययन गर्न समेत जाने गरे । जसले पढ्यो, त्यसले जित्यो भन्ने अभिप्रायका साथ उनी विद्यालयका अन्य विद्यार्थीहरू सँग सहभागि भएर अध्ययन गर्दै आइरहेका छन । उनले अघिल्लो बर्स कक्षा ११ को परीक्षा दिएका थिए । कक्षा १२ पछि पनि अध्ययनलाइ निरन्तरता राख्ने उनको योजना छ । पढाइ र ज्ञान आर्जनका लागि कुनै उमेर नहुने मान्यता राखेका खनाल शिक्षा र सामाजिक क्षेत्रमा जीवन रहेसम्म सक्रिय हुने उनी बताउछन् ।

उनी अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए । उनी विकास र शिक्षा प्रेमी जनप्रतिनिधिको रुपमा परिचय बनाउन सफल व्यक्ति हुन ।

उनी मनहरीमा रुचाइएका जनप्रतिनिधि मध्य एक हुन् । उनलाई जनताले दुई पटक वडा अध्यक्षमा मतदान गरी निर्वाचित गराएका छन । उनी जनताको काम आफ्नै सम्झेर गर्ने वडाअध्यक्ष हुन ।स्थानीयस्तरका समस्या समाधान गर्न जुनसुकै बेला पनि जनताकोमा हाजिर हुन तयार खनाललाई जनताले विश्वासको मत दिएर पटकपटक जनप्रतिनिधिको रुपमा जिताएका छन् ।

गोरखापत्र दैनिकका लागि हेटौंडाबाट अनिल पराजुलीले लेख्नुभएको समाचार सामाग्री हामीले साभार गरेका हौं ।