हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६ चौघडास्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्ना ८१ जना सदस्य किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ।

हेटौँडा उपमहानगरपालिकाको ७० प्रतिशत अनुदान र किसानहरूको ३० प्रतिशत लागत सहभागितामा विभिन्न कृषि उपकरण वितरण गरिएको संस्थाले जनाएको छ। वितरण गरिएका उपकरणमा पाँच थान हाते ट्र्याक्टर, २१ थान मकै छोडाउने मेसिन, १० थान मकै रोप्ने मेसिन, ४१ थान विद्युतीय स्प्रे (इलेक्ट्रिक स्प्रे) र छ वटा टनेल रहेका छन्।

उपकरण वितरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले वडा नम्बर ६ कृषि उत्पादनका लागि उर्वर क्षेत्रका रूपमा परिचित रहेको उल्लेख गर्दै किसानको उत्पादन र आयवृद्धिका लागि उपमहानगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने बताइन्। उनले सहकारीले आफ्ना सदस्यको आवश्यकता र सेवामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा हेटौँडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, वडा सदस्य सरिता सापकोटा, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धिताल, हेटौँडा उपमहानगरपालिकाको कृषि शाखाकी अश्मी पौडेल तथा चौघडा कृषि सेवा केन्द्रकी प्रमुख बिन्दु पोखरेललगायतको सहभागिता रहेको थियो।

सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि आधुनिकीकरणमार्फत किसानको उत्पादन लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले उपकरण वितरण गरिएको जनाइएको छ।

भीमसेन पौडेल
थप जानकारी