हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकार सधैँ जनताको साथमा रहेको बताएका छन् । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा समूहको ब्लक नं. ६ मा निर्माण गरिएको बीपी–गणेशमान स्मृति शान्ति पार्क (पिस पार्क) मा रहेको प्रवेशद्वार तथा सोही स्थानमा निर्माण गरिएको बीपी, गणेशमान, पुष्पलाल र मनमोहनका अर्धकदका शालिकको उद्घाटन तथा अनावरण कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले जनताको आवश्यकता र औचित्यका आधारमा प्रदेश सरकारले विकास गर्दै आएको बताए । स्थानीय क्षेत्रमा विकासका कामले निरन्तरता पाएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले पिस पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आफूले थप बजेट उपलब्ध गराउने घोषणा समेत गरे ।

वन समूहले आफ्नो स्वीकृत १० वर्षे दिगो वन व्यवस्थापनसम्बन्धी कार्ययोजनामा समावेश गरी पाँच हेक्टर वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्र घोषणा गरी काम गर्दै आएको छ।

पर्यटन विकास आयोजना, हेटौँडाको सहयोगमा डीपीआर तयार गरी सोहीअनुसार वातावरणमैत्री भौतिक संरचना निर्माण गरिएको छ। पार्कभित्र विश्वमा लोपोन्मुख सालक तथा घाइते सालकका लागि सालक केज निर्माण, सालकको मूर्ति, सालकसम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड, किरातेश्वर महादेवको मूर्ति, पिकनिक स्पट, गोलघर, चिल्ड्रेन पार्क, शौचालयलगायतका संरचना निर्माण गरिएका छन्।

प्रवेशद्वार र अर्धकदका शालिक पर्यटन विकास आयोजना, हेटौँडाको १८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

कार्यक्रममा वन समूहका कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईंले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

वन समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशी, पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तव, हेटौँडा–६ का कार्यवाहक वडाध्यक्ष विजय पौडेल, मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरे, हेटौँडा–६ का वडा सदस्य सरिता सापकोटा र मुना विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईं, मकवानपुर अध्यक्ष साधुराम चौलागाईंसहित विभिन्न सामुदायिक वन, सहकारी संस्था, विद्यालयका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी, उपभोक्ता र शुभेच्छुकहरूको सहभागिता थियो।

भीमसेन पौडेल
थप जानकारी