हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आफ्नै निजी जग्गामा बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भएको नवनिर्मित भवनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।

क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले क्लबले खेलकुद, वातावरण संरक्षण तथा सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको बताए । उनले सामाजिक संघसंस्थाले समाजमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार बास्तोलाले संस्थागत प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौँडा–६ का कार्यवाहक वडाध्यक्ष विजय पौडेल, वडा सदस्य सरिता सापकोटा र मुना विश्वकर्मा, क्लबका पूर्व अध्यक्ष तथा चौघडा साकोसका अध्यक्ष विजयकुमार श्रेष्ठ, क्लबका सल्लाहकार तथा शिक्षाविद् बद्रीबहादुर पाठक, सल्लाहकार तथा वडा नं. ६ का निवर्तमान वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, हेटौँडा उपमहानगरपालिका वडा नं. ६ का निवर्तमान वडा सदस्य सुभद्रा तिमल्सिना, नेपाली कांग्रेस वडा नं. ६ का सभापति रामहरि तिमल्सिना, नेकपा (एमाले) वडा नं. ६ कमिटीका अध्यक्ष विश्वराज राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. ६ का सभापति रूपक ढकाल, नेकपा वडा नं. ६ कमिटीकी अध्यक्ष शोभा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंसहित विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र स्थानीयवासीको उपस्थिति रहेको थियो।

यस क्लबले २०५८ सालमा वातावरण संरक्षण पुरस्कार प्राप्त गरेको थियो। क्लबमा ५० जना साधारण सदस्य, ८५ जना आजीवन सदस्य तथा दुई जना मानार्थ सदस्य रहेका छन्। क्लबका सचिव राजकुमार फुयालका अनुसार आफ्नै जग्गामा सुविधा सम्पन्न तीनतले पक्की भवन करिब ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

भीमसेन पौडेल
थप जानकारी