हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठकले मुलुकमा देखिएका विपत्तिको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् । नेकपा एमाले गढी गाउँपालिका कमिटीद्वारा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सुशासनको एजेण्डा अघि सारेको सरकारले विपत्तिको व्यवस्थापन र जनताका समस्याको सम्बोधन गर्न नसकेको बताइन् । दल तथा अन्य तहसँग समन्वय नगर्ने, सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन नगर्ने र समस्याप्रति गम्भीर नहुने प्रवृत्तिले सरकार गैरजिम्मेवार बनेको उनको भनाइ थियो ।

नेतृ पाठकले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर जनताको सुखदुःखमा सहभागी हुँदै पार्टीको काममा जुट्न आग्रह गरिन् । कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले स्थानीय तहमा एमालेको नेतृत्व अपरिहार्य रहेको बताए । उनले मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकारदेखि केपी शर्मा ओली नेतृत्वका सरकारसम्मले स्थानीय विकासलाई प्राथमिकता दिएको उल्लेख गरे ।

एमाले नेतृत्वका सरकारले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग तथा वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ थियो । एमालेले जितेका स्थानीय तह र वडामा अन्यको तुलनामा राम्रो काम भएको दाबी गर्दै उनले ती काम जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले जनताका सुखदुःखमा सहभागी भएर पार्टीका गतिविधि टोलटोल र घरघरसम्म पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

चाडपर्वका अवसरमा शुभकामना व्यक्त गर्दै नेता सिग्देलले मुलुक प्राकृतिक तथा राजनीतिक संकटमा रहेका बेला मितव्ययी र सद्भावपूर्ण रूपमा चाडपर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य निर्मला लम्साल, प्रदेश लेखा कमिटीका सचिव हरिप्रसाद कँडेल, सचिवालय सदस्य मेम्बर लो, पालिका कमिटीका उपाध्यक्ष चन्द्र योञ्जनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले पार्टी सरकारमा रहँदा गरेका राम्रा काम जनतामाझ पुर्‍याउन र पार्टीप्रति फैलाइएका भ्रम चिर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सचिवालय सदस्य विदुर हुमागाईं, खिलप्रसाद चौलागाईं, रामजी सापकोटा, शारदा तिमल्सिना तथा गढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरे र वडा नं. ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको पालिका कमिटीका सचिव रोमनाथ रेग्मीले जानकारी दिए ।