ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो।

साउदी अदालतको यो निर्णयबाट विश्व समुदाय स्तब्ध भएको छ भने त्यसको  विश्वव्यापीरूपमा निन्दा भएको छ। वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो।

एसोसिएटेड प्रेस (एपी)का अनुसार प्राप्त कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई २८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन्। फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ, जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ।

न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ। उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोपसमेत लगाइएको छ।

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढ नियाल्नु आतंकवाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन्।

विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद  र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन्। रासस/एपी