हेटौंडा । बाराको निजगढ वडा नं. ६ स्थायी घर भएका रामप्रसाद तिमल्सिनाले हेटौंडाको हटिया जुरेथुममा भगवान कृष्णको ५२ फिट अग्लो पूर्ण कदको मूर्ति बनाएका छन । नेपाली मूर्तिकारले बनाएको यही नै नेपालमा सबैभन्दा अग्लो कृष्णको मूर्ति भएको उनको दाबी छ ।

मूर्ति निर्माणको सम्पूर्ण काम सकिएको र रङ रोगन समेत भईसकेको उनले जानकारी दिए । तिमल्सिनाले आफ्नो मूर्तिकलाको अनुभव पनि सुनाए । सानैदेखि मूर्तिकलामा रुचि राख्ने उनले २ कक्षामा पढ्दादेखि नै माटोका सुन्दर मूर्ति बनाउने गर्थे । ८ कक्षामा पढ्दा विद्यालयमा आकर्षक सरस्वतिको मूर्ति बनाएर शिक्षक, विद्यार्थी सबैबाट स्याबासी पाएको उनी स्मरण गर्छन् । क्लासमा दिएको कापी पुरै चित्र बनाएर भर्ने गरेको बाल्यकालको उनले स्मरण गरे । प्यागोडा शैलीको मन्दिर, गेट, सबै प्रकारका जनावर, देवी देवताका मूर्ति बनाउनु उनको पेशा नै हो ।

बिना कुनै तालिम सबै प्रकारका आकर्षक मूर्ति बनाउने उनमा अद्वितीय कला छ । उनले नेपालका विभिन्न ठाउँमा १६ फिट अग्लोसम्मको ३ वटा हनुमानको मूर्ति बनाइसके । साथै अन्य कयौं साना मूर्ति बनाएर अर्थोपार्जन गर्दै आएका छन् । अमृत सिमेन्ट सामाग्री उद्योगको नाममा व्यवसाय दर्ता गरेरै उनले मूर्ति बनाउने कामलाई निरन्तरता दिँदै आएका छन् । मूर्तिकलाको प्ररेणाको स्रोतको रुपमा उनी आफ्नी आमालाई सम्झन्छन् । उनकी आमामा देवी देवताप्रति अति नै भक्ति थियो । देवी देवताको मूर्ति देखाउँदै आमाले माटोको मूर्ति बनाउन उक्साउने गरेको उनी सम्झन्छन् । आमाको उक्साहटमा माटोका चिल्ला मूर्ति बनाउने उनै तिमल्सिना अहिले मूर्ति निर्माणलाई पेशा नै बनाइरहेका छन् । भन्छन्,‘मूर्तिकला मेरो जीवन हो, यो काममा मलाई निकै आनन्द आउँछ । जीवनभर म मूर्तिकलामै लागिरहन्छु ।’