हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमतीले प्रदेश सरकार अपाङ्गमैत्री नीति नलिएको प्रती महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अपांगता भएकाहरूको समस्या सम्बोधन नगरिएको भन्दै विरोध जनाएको हो ।

राष्ट्रिय अपांग महासंघ बागमतीले हेटौंडामा पत्रकार सम्मेलन गर्दै बजेटको विरोध गरेको हो । महासंघ प्रदेश अध्यक्ष अश्विन लम्सालले सामाजिक विकास मन्त्रालयअन्तर्गत समावेश भएका योजनाले अपांगता भएकाहरुको उत्थान हुन नसक्ने दाबी गरे । ‘हाम्रो क्षेत्रका लागि सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेट अधिकांश कार्यक्रम झारा टार्ने खालको मात्र छ,’ उनले प्रदेश सरकारले आगामी वर्षका लागि विनियोजन गरेको बजेटले अपांगताको क्षेत्रलाई अर्थपूर्ण रुपमा समेट्न नसकेको बताए ।

राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशका व्यवस्थापक सीता मल्लले पहुँचयुक्त संरचना नहुँदा अपांगता भएकाहरुले समस्या झेल्दै आएको बताइन् । प्रदेश सरकारले निजामति सेवा प्रवेशमा समेत अपांगको कोटा कटाउन खोजेको उनको आरोप छ । यसविरुद्ध सर्वोच्चमा जाने तयारी भइरहेको पनि उनले बताए । अपांगमैत्री संरचना, कानुन र व्यवहार आवश्यक रहेको प्रदेश व्यवस्थापक मल्लको भनाइ छ ।

बागमती प्रदेशसभामा एक जना अपांग भएका प्रदेशसभा सदस्य रहेकोमा उनले अपांगमैत्री संरचना नहुँदा अनेक समस्या झेल्नुपरेको जानकारी दिइएको छ । २०७८ को जनगणना अनुसार नेपालमा २ दशमलव २५ प्रतिशत अपांगता भएका व्यक्ति बसोबास गर्छन ।