हेटौंडा । सामुदायिक वन समूहले गरेका गतिविधिरुको जानकारी लिन आएको समूहले यहाँ रहेको २ वटा सामुदायिक वनको अवलोकन गरेका छन । मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको शनिवार अवलोकन गरेका हुन ।
अवलोकनमा आएका सामुदायिक वनका पदाधिकारीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । समूहले गरेका वन सदुपयोग, ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, पर्यापर्यटन, सामाजिक कार्यहरु, आयआर्जन, वृक्षारोपण लगायतका विषयहरुमा जानकारी गराएका थिए । सहभागीहरुले समूहद्वारा निर्मित विपी गणेशमान पार्कको समेत स्थलगत अवलोकन गरेका थिए ।
यसैगरि सो समूहले चुच्चेखोला सामुदायिक वनद्वारा सञ्चालित काष्ठमिल र सालक पार्कको समेत अवलोकन गरेका थिए । सो अवसरमा समूहका उपाध्यक्ष उमेश अधिकारी, सदस्य केदार पुडासैनी र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न गतिविधीहरुको बारेमा जानकारी गराएका थिए । बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलालको नेतृत्वमा आएको टोलीमा कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको सहभागिता थियो ।
सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको रानी सामुदायिक वनले चालु आव. ०७९/०८० को बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन । पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक वनका विशेषज्ञहरुको रोजाईमा परेको यो सामुदायिक वनको हाल सम्म ५ सय ६७ वटा टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्