हेटौंडा । विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायिक विद्यालयलाई आवश्यक इलेक्ट्रिोनिक्स सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यालयको प्रशासनिक कामलाईए सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायिक विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । सहयोग सामाग्री हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र सामाजिक विकास समितिका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।

आन्तरिक श्रोतको २० लाख रुपियाँबाट ठेक्का मार्फत खरीद गरिएको सामाग्री हस्तान्तण गर्दै नगर प्रमुख लामाले विद्यालयको शैक्षिक गतिविधिलाई सुधार्ने तर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।  सामुदायिक बिद्यालयको शैक्षिक स्तर उकास्ने तर्फ सबैले ध्यान दिन जरुरी रहेको भन्दै  उनले उपमहानगरले दिएको सामाग्रीबाट विद्यालयको आन्तरिक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड दिइन् ।

उपमहानगरले विद्यालयहरुलाई प्रविधि मैत्री बनाउनका लागि गरेको सहयोगबाट समुदायिक विद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् । विद्यालयको प्रशासनिक कार्य तथा परिक्षा सम्बन्धि कार्य व्यवस्थापनका लागि निकै सहज हुने आकाशधारा पानीसारा आधारभुत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर विकले बताए ।