हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत राष्ट्र निर्माणमा दिवसले प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

दिवसका अवसरमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका प्रजातन्त्रप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुका साथै नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सबै प्रकारका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘प्रजातन्त्र दिवसले हामी सबैलाई देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।’ प्रमुख शर्माको प्रजातन्त्र दिवसको सन्देशमा उल्लेख छ । वि.सं. २००७ सालमा आजैका दिन मुलुकमा जहानियाँ निरङ्कुश शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । ‘जनताको सङ्घर्षले जीत हासिल गरेको ऐतिहासिक दिनको स्मरणमा आज प्रजातन्त्र दिवस मनाइँदैछ ।

आज हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विगतकै त्याग, तपस्या र बलिदानीको उपलब्धि भएको प्रमुख शर्माको भनाई छ । ‘हाम्रा जनप्रतिनिधीमार्फत प्राप्त गरेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीतासहितको संविधानको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन नै हो ।’ उनले भनेका छन् ।