हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १९, बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्यांकर ठोक्किएर भएको दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्वतको मोदी गाउँपालिका–६ की ३५ वर्षीया लक्ष्मी रानाको मंगलबार राति हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार दिउँसो भएको दुर्घटनामा ३९ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर थियो भने अन्य मध्यम र सामान्य घाइते थिए । अधिकांश घाइते उपचारपछि घर फर्किसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

अस्ति सोमबार चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६ख २११९ को यात्रुवाहक बस टायर पड्किँदा अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ख ८१८० मालवाहक ट्रकसँग ठोक्किएको थियो । सोही क्रममा ट्रक पनि अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ आउँदै गरेको तेल बोक्ने ना.७ख १७७४ खाली ट्यांकरसँग ठोक्किएको थियो ।

घाइतेहरूलाई तत्कालै उद्धार गरी हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । प्रवक्ता अर्यालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।