हेटौँडा  । बागमती प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री युवराज दुलालका अंगरक्षक मृत भेटिएका छन्।

मकवानपुरको मनहरि गाउँपालिका– ७ बिजौना घर भएका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मंगलबार बिहान मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय खानीखोला, धादिङ दरबन्दी भएका सुवेदी केही समयदेखि मन्त्री दुलालको अंगरक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

सुवेदीलाई हेटौँडा उपमहानगरपालिका– ११ स्थित बनदेवी मन्दिरनजिकै सालको रूखमा कालो पेटीको पासो लगाई झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले मृतक सुवेदीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको जानकारी दिए। उनले घटनाबारे अनुसन्धान थालिएको पनि जानकारी दिए।